मैले तारा खसाएको खबर लामो समयसम्म गोप्य रहन सकेन । एक कान, दुई कान मैदान हुँदै देशैभरि फैलियो । दिनहुँ सयौँ मानिसहरू तारा हेर्न आउँथे । एक दिन माओवादीका अध्यक्ष प्रचण्ड मेरो निवासमै भेट्न आए । प्रचण्ड र मेरो सम्बन्ध छुट्टै खालको छ । बाहिर जेजस्तो सोचे पनि उनी मलाई दाजु भनेर सम्मान गर्छन्, भेट्दा खुट्टामै ढोग्छन् ।
०००
माओवादीसितको लडाइँ उत्कर्षमा थियो । नेपालगन्ज पृतनामा हुँदा खबर आयो, माओवादी जत्थाले कामीडाँडामा हान्दै छन् । म आफैँ भिडन्तमा जाने निर्णय गरेँ । सटको भित्री खल्तीमा सुदर्शन चक्र हालेर म कामीडाँडा हान्निएँ । (यो सुदर्शन चक्र मैले राजा महेन्द्रबाट उपहार पाएको हुँ । ठ्याक्कै यस्तै मोडलको सुदर्शन चक्र भगवान् विष्णुसित पनि छ । यसले लङ रेन्जमा टार्गेट फिक्स गरेर एक सेकेन्डभित्र १० हजार हताहती गर्न सक्छ ।)
म पुग्दा त्यहाँ सबै सिपाहीहरू डरले थरथर कामेर बसेका रहेछन् । सुरुमा मैले उनीहरूको मनमा साहस भरेँ । ‘म आएँ । अब केही हुँदैन । हामी माओवादीलाई यहाँ टिक्न दिनेछैनौँ । तिमीहरू निश्चिन्त भएर सुत ।’
सबै सिपाही ढुक्कले सुते । तर, मलाई भने निद्रा परिरहेको थिएन । यत्तिकैमा बाहिर कल्याङमल्याङ आवाज आयो । झ्यालबाट चियाएर हेरेँ । माओवादीको ठूलो जत्था देखियो । मोबाइलको टर्च बालेर भित्र हेरेँ । मेरा प्राणभन्दा प्यारा सिपाहीहरू मस्त निद्रामा थिए । मैले उनीहरूलाई यतिवेला उठाएर डिस्टर्ब गर्नु उचित ठानिनँ । बरु एक्लै लड्छु भन्ने मन बनाएर बाहिर निस्केँ ।
बाहिर निस्केर हेर्छु त झन्डै २० हजारको हतियारधारी जत्थाले घेरिसकेछ । उनीहरूले मलाई आत्मसमर्पण गर्न उर्दी गरे । एक मनले लाग्यो, यी सबैलाई सुदर्शन चक्र हानेर एक चिहान बनाइदिऊँ । तर फेरि सोचेँ, आखिर यिनीहरू पनि त नेपालीकै सन्तान हुन् । कसैका श्रीमान्, कसैका श्रीमती, कसैका छोराछोरी । उनीहरूप्रति मेरो दया पलायो । निकालिसकेको सुदर्शन चक्र जस्ताको तस्तै कोटको भित्री खल्तीमा हालेँ ।
तर, माओवादी जत्थाले ममाथि अन्धाधुन्द गोली बर्साउन थाले । कुनै गोली हातले छेक्थेँ, त कुनै छातीमा लागेर फर्किन्थ्यो । कति गोली त मुख बाएर निलिदिएँ । आखिरमा उनीहरूको गोली सकियो । त्यसपछि बम हान्न थाले । उनीहरूले फालेका बम हातले समात्दै खल्तीमा हाल्दै गर्न थालेँ । उनीहरूको बम पनि सकियो । अन्तत: केही नलागेपछि उनीहरू आफैँ भागाभाग भए । यसरी एउटा रक्तपात टर्यो ।
०००
धेरै वर्षअघि एउटा सेमिनारमा भाग लिन अमेरिका जाँदा बिल गेट्स नामका युवकसित चिनजान भएको थियो । सेमिनारमा मैले दिएको ‘अमेरिकी युवा र उद्यमशीलता’ विषयक प्रवचनले उनलाई निकै ‘इन्सपायर’ गरेछ । उनी मसित आएर परिचय गरे ।
०००
सानैदेखि साहित्यमा राम्रो दख्खल थियो । त्यसमा पनि कवितामा साह्रै पोख्त थिएँ । बाल्यकालमा मेरो कविता नसुनीकन राजा महेन्द्रलाई निद्रै पर्दैनथ्यो । हरेक शुक्रबार राजपरिवारका सदस्यहरू मेरो कविता सुन्न दरबारमा भेला हुन्थे । मैले कविताको शीर्षक भन्नासाथ रुवाबासी सुरु हुन्थ्यो । बालबच्चासमेत रुन्थे।
बिस्तारै मैले कविता लेख्ने मात्र नभएर बेच्न पनि थालेँ । मसित किनेका कविता छपाएर चर्चित हुनेहरूको सूची धेरै लामो छ । आमा शीर्षकको कविता गोपालप्रसाद रिमाललाई मैले बेचेको हुँ । भुपी शेरचन त मेरै कविताहरूबाट प्रख्यात भएका हुन् । मुनामदन नामको खण्डकाव्य लक्ष्मीप्रसाद देवकोटालाई दुई सुकामा बेचेको थिएँ । त्यतिवेला यो ठूलो रकम थियो । अहिलेको दुई लाख भनेजति । कविता बेचेको रकम म मेरा सिपाहीहरूलाई बाँडिदिन्थेँ । मैले यसरी बाँडेको पैसाबाट धेरै सिपाहीले घर ठड्याएका छन् ।
०००
मेरो सबैभन्दा बढी हप्की खाने नेता गिरिजाप्रसाद कोइराला हुन् । हरेक भेटमा कुनै न कुनै इस्युमा उनले मेरो गाली भेटेकै हुन्थे । तर, बिचरा कहिल्यै एक शब्द जवाफ फर्काएनन् । किनभने उनलाई पाँच–पाँचपटक प्रधानमन्त्री बनाउन मेरै सबैभन्दा ठूलो हात थियो भन्ने उनले बुझेका थिए ।
कटुवालको आत्मकथालाई यसरी चिरञ्जीवीले आजको नयाँपत्रिका दैनिकमा व्यङ्ग्य गरेका हुन् । कटुवालको आत्मकथालाई धेरैले ‘हावादारी’को संज्ञा दिएका छन् ।