लौ गाम्लेहरू! धेरै दिनपछि यौटा कथा लेखें पुरानो सम्झनामा आधारित।टिन एजको कुरकुरे वैंशमा के के हुने के के, अहिले संझिदा आफैंलाइ हाँसो उठ्छ!
ब्लफ कलको बिगबिगी भर्खर आइ एस्सी सकेको थियो, एम बि बि एस को ईन्ट्रान्सको तयारीको लागि कलेजका ११।१२ जना साथीहरू सहित पुतलीसडकको यौटा कोचिङ् सेन्टरमा भर्ना भएको थिएँ। हाम्रो कलेजमा ११ जनाको ग्रुप थियो, ‘पाटन ग्रुप’, सबै पाटनका भएकोले। कलेजको त्यही ग्रुपलाइ निरन्तरता दिंदै कोचिङ् पनि सँगै गएका थियौं। नयाँ क्लासमा हाम्रै कलेजका केही केटीहरू अनि बाहिरका केटाकेटीहरू पनि थिए। क्लास बिहान सबेरै ७ बजे भएकोले आँखा मिच्दै उठेर जानु पर्थ्यो।
हाम्रो ग्रुपमा पनि गजब गजबका केटाहरू थिए, कोही बिहानै ५ बजे उठेर मर्निङ् वाक भन्दै मन परेकी केटीको घरमुनि गएर कुरिरहने। अनि केटी कोचिङ् जानको लागि निस्केपछि पछि पछि लाएर कोचिङ् आउने। आफू चैं सोझो भइ टोपलेको थिएँ, तर त्यो उमेर नै त्यस्तो थियो कि, राम्री केटी बाटोमा देख्दा टाउको घुमाएर नहेरे पनि आँखा चैं छड्के पारेर हेर्न मन लागिहाल्थ्यो।
बिहान ७ देखि १० बजेसम्म पढेपछि केटाहरूसँग पुतलीसडकको चियापसलमा चिया पिउँदै हल्लिंदै घर फर्किईन्थ्यो। एक दिन जेठको टंटलापुर घाममा ११ बजे नै गर्मीले सीमा नाघिसकेको थियो। बल्ल बल्ल घर पुगेर खाना खाने तर्खर गर्दै थिएँ, एक्कासी फोनको घण्टी बज्न थाल्यो। खान ठीक्क परेको भात त्यसै छोडेर फोन उठाउन दौडें।
“हेल्लो!” भोकले गर्दा थकित स्वरमा बोलें।
“हेल्लो! त्यहाँ चित्रेलाइ पाउँ न!” उताबाट केटीको सुरिलो स्वर आयो।
“बोल्दैछु, को हो?” कलेजकै कोही साथी हो कि जस्तो पनि लाग्यो।
“के गरिरा’को?” मेरो प्रश्नको उत्तर नदिएर अर्को प्रश्न पो गरी।
“म भर्खर कोचिङ्बाट आएको। तिमी को बोलेको?” मैले सही कुरा बताएँ।
“कहाँ पढ्छौ कोचिङ्?” उसले फेरी सोधी।
“हैन को बोलेको? मेरो नंबर कसरी पायौ?” मेरो उत्सुकता बढिरहेको थियो।
“मेरो नाम सुजाना हो। मैले तिम्रो नंबर एक जना साथीको डायरीबाट नोट गरेको!”
“को साथी?” मेरो जिज्ञासा बढिरहेको थियो।
“नाम त म भन्दिनँ, तर तिम्रो कलेजमा पढ्छे! तिमी मसँग भेट्छौ?”
“हुन्छ!” मेरो मुटु जोडले ढुक्ढुकाउन थाल्यो।
१८।१९ वर्षको त्यो उमेरमा नचिनेको केटीको फोन आउँदा म दंग परेको थिएँ। हुनत कलेजका केही केटी साथीहरूसँग फोनमा कुरा हुन्थ्यो समय समयमा, तर यस्तो खालको कल चैं पहिलो थियो।
“ल म पछि फोन गर्छु है त, अनि कहाँ भेट्ने भन्छु!” उसले भनी।
“हुन्छ!” मेरो मन हावामा उड्न थाल्यो।
फोन राखेपछि मैले कहिले खाना खाएँ, के गरें केही थाहा भएन मलाइ, फोनको घण्टी बज्यो कि मेरो मुटुको धड्कन बढ्न थाल्थ्यो र मेरा खुट्टाहरू आफसेआफ फोन भएको दिशातिर दौडिन्थे। तर दिनभरी कुर्दा पनि उसको फोन आएन।
भोलि पल्टपनि घाम, धुवाँ, धूलोसँग जुध्दै घर पुगेर खान मात्र के ठीक्क परेको थिएँ, फोनको घण्टी बज्न थाल्यो, “टिर्रर्रीङ्ऽऽऽ!”
बाघ झैं उफ्रेर फोन झम्टन पुगें।
उसैको फोन रहेछ।
“हिजो किन फोन नगरेको?” मैले सोधिहालें।
“त्यतिकै” उसले भनी।
“तिमी कहाँ के पढ्छौ?” मैले उसको बारेमा पनि जान्न खोजें।
“म पिपुल्स क्याम्पसमा बि बि एस फर्स्ट यरमा पढ्छु”
म भन्दा त एक वर्ष जेठी पो रैछे, मैले मनमन सोचें।
“अनि तिम्रो जाँच आउन लाग्यो हैन? पढ्नु पर्दैन?” बि बि एसको जाँच आउन लागेको कुरा मलाइ थाहा थियो। त्यसैले सोधें।
“हो, अर्को महिनामा छ” उसले भनी, “ल त म राखिदिन्छु है!” उसले एक्कासी फोन राखिदिई।
यसरी अचानक फोन राखेकोमा म छक्क परें केही दुखित पनि।
मैले पढाइको बारेमा सोध्न नहुने थियो कि क्या हो, मनमनै सोच्न थालें।
त्यसपछि केही महिनासम्म ब्लफ्कलको खडेरी लाग्यो। तर जब जब फोनको घण्टी बज्थ्यो, मेरो मुटु पनि ट्वाङ् ट्वाङ बज्न थाल्थ्यो।
साथीहरूलाइ पनि भनें यो कुरा, तर को केटी हो कल गर्ने पत्ता लाग्न सकेन। रहस्य रहस्य नै रह्यो।
-------------------------------------------------------------------------------------------
केही महिनापछिको कुरा हो, आइ एस्सीको रिजल्ट पनि भैसक्याथ्यो, मेडिकल ईन्ट्रान्स दिनु भन्दा पहिले बी एस्सीका आवेदन खोलेको हुनाले सबैले टी सी मा फाराम भरेका थिए। जियोलोजी भन्ने विषय देख्ने बित्तिकै मैले केही नसोची त्यसैमा आवेदन हालेको थिएँ।
साँझमा ड्याडीसँग टिभी हेर्दै थिएँ, फोन बज्न थाल्यो।
“हेल्लो! चित्रेलाइ पाउँ न!” उताबाट केटीको आवाज आयो।
“बोल्दैछु!” कोही चिनेकै साथी जस्तो लाग्यो, तर हैन रहेछ।
“के गर्दैछौ?”
“टि भी हेरिरा’को, को बोल्या?”
“मेरो नाम मीना हो, आज तिमीलाइ टि सी मा देख्याथें, त्यसैले फोन गर्न मन लागेर गरेको!” उसले भनी।
“अनि मेरो नंबर कसरी पायौ त?” उही पुरानो जिज्ञासा पोखें।
“म पत्ता लाइहाल्छु नि तिम्रो नंबर, मलाइ तिम्रो बारेमा सबै कुरा थाहा छ!”
लौ को रैछे यो? म झसंग भए!
“सबै कुरा थाहा छ रे? के के कुरा?” मैले सोधें।
“तिमी ---- स्कूलमा पढ्या हो?”
“हो!”
“तिमी ---- कलेजमा पढ्या हो?”
“हो!”
“तिम्रो एस एल सीमा ---- प्रतिशत आएको हो?
“हो!” म छक्क पर्ने थालें, यसलाइ त थाहा रैछ बा!
“तिम्रो आई एस्सीमा ----- प्रतिशत आएको हो?
“हो!” यो पनि थाहा रैछ!
“तिम्रो कलेजमा रोल नं ९ हो?”
“हैन! रोल नं ८ हो मेरो!” यो चैं गलत सूचना रैछ उसँग, म दंग परें।
“तिमीले यौटा अचम्म खालको विषय पढ्न लागेको हो?”
“कुन अचम्म खालको? जियोलोजि भनेको? हा हा!” मलाइ हाँसो उठ्यो।
“तिम्रो बेस्ट फ्रेन्ड सुवर्ण हो?”
“मेरो धेरै बेस्ट फ्रेन्ड मध्ये सुवर्ण पनि एक हो, किन र?” मैले सोधें।
“आज तिमी र सुवर्णलाइ टि सी मा देखेकी थिएँ, तिमीहरू सँगै हिड्छौ नि सधैं त्यसैले सोधेको!”
बाऽऽऽऽ! यो केटी त जासूसै हो कि जस्तो लाग्न थाल्यो मलाइ!
“अनि तिम्रोबारेमा पनि भन न!” मैले आग्रह गरें।
“मेरो नाम मीना हो” उसले दोहोर्याई। “म ए भी एम स्कूलमा पढेकी! लौ त पछि कुरा गरम्ला!” उसले फोन राखिदिई।
मैले हतार हतार सुवर्णलाई फोन गरें।
“सुवर्ण, तिमीसँग यौटा कुरा गर्नु थियो!” मैले एकै सासमा भनें।
“चित्रे, तिमीसँग नि यौटा कुरा गर्नु थियो!” उसले पनि एकै सासमा भन्यो।
“के कुरा?” दुबैले एकै पल्ट सोध्यौं।
“म भोलि भन्छु क्लासमा” ड्याडिको अगाडी सबै कुरा बेलिबिस्तार लगाउन अप्ठ्यारो लाग्यो मलाइ।
भोलि पल्ट क्लासमा थाहा भयो कि सुवर्णलाइ पनि त्यही साँझमा उही मीनाले फोन गरेकी रहिछे, अनि मलाइ जस्तै ब्लफ दिएकि रैछे।
“त्यो केटीलाइ त मेरोबारेमा सबै कुरा थाहा रैछ यार!” ऊ भन्दै थियो।
“मेरो त जाँचको प्रतिशत पनि ठ्याक्कै भनी बा!” मैले भनें।
“मेरो त कलेजको रोल नं पनि मिलाई!” सुवर्ण अवाक थियो।
“मेरो चैं रोल नं अलि मिलेन उसले भनेकी!” यसमा मलाइ अलि खुशी लाग्यो।
हाम्रो ग्याङ्का अरू साथीहरूले हामीलाइ खूब जिस्क्याए, उडाए।
“यो तिमीहरू मध्येकै काम हो!” मैले दोष लाएँ। “त्यो मीना भन्ने केटी ए भी एम मा पढेकी रे, अजित र महेश पनि त्यहीं पढ्या हैन? तिमीहरूले नै दिएको होला हाम्रो नंबर र सबै ईन्फर्मेशन!”
“मलाइ तिम्ले एस एल सीमा कति ल्यायौ थाहा पनि छैन! मलाइ पो दोष लगाउँछ!” अजित जंगियो।
“त्यही त, अरू केही काम छैन र तिमीहरूको जासूसी गरेर बसुँ?” महेशले भन्यो।
“त्यसो भए कसरी थाहा भो त त्यो केटीलाइ सबै कुरा?”
“हा हा हा हा!” सबै गललल हाँसे!
सुर्वण र मैले चैं प्रश्नवाचक दृष्टीले एक अर्कालाइ हेर्यौं।
Last edited: 02-Oct-07 10:50 AM