मेरो पहिलो परिचय : म नेपाली !
शिव प्रकाश
बोष्टन /अमेरिका, मे ३१
म को हूँ, मेरो नाउँ के हो, मेरो थर के हो, मेरो जात के हो ?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार, जे होस् !
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य, र शूद्र तथा मेरो थर पौड्याल, पोख्रेल, कटुवाल, दराइ, श्रेष्ठ, महर्जन, नापित, माली, कामी, दमाइ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, मण्डल, महतो, तेली, बनिया, हमाज आदि इत्यादि जे होस् !
म कसको छोरो हूँ, कसको दाजु हूँ ,कसको भाइ हूँ, कसको बाबु हूँ ? कसको भतिजो, कसको काका, कसको मामा, कसको ज्वाई, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी ? आदि इत्यादि जे होस् !
मसँग यी सबैको एउटै मात्र उत्तर छ - यी सबैभन्दा पहिला म नेपाली हूँ । मेरो पहिलो परिचय नेपाली हो ।
त्यसैल म भन्छु- नेपाली हूँ नेपालको मायो यो छातीमा सजाउँछु,
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु ।
म स्वदेशमा हूँ वा दशदेश दूर परदेशमा हूँ सधैं म भन्छु -
म नेपाली हूँ।
मेरो नाउँ नेपाली हो ।
मेरो जात नेपाली हो ।
मेरो थर नेपाली हो ।
मेरो भाषा नेपाली हो ।
मेरो भावना नेपाली हो ।
मेरो आस्था नेपाली हो ।
मेरो विश्वास नेपाली हो ।
मरो मनमस्तिष्क दुबै नेपाली हो ।
नाउँका लागि मलाइ दिइएको मेरो नाउँ शिव प्रकाश भएता पनि जन्मले पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो । जुन अकाट्य छ । अमेट्य छ । हृयदको शिलापाटीमा लेखिएको छ । मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, मैलै जन्मदै लिएर आएको हो – नेपाली ! त्यसैले म सबैभन्दा पहिले नेपाली हूँ । त्यसपछि मात्र फानालो चिलानो कथित नामले चिनिने अरु कोही हुनसक्छु !
म मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ । त्यो नेपाली धरतीको थर हूँ । जुन मेरा बाबु बराजेले पूजेको माटो हो । धरती हो । त्यसैले मेरा पहिलो जात नेपाली नेपाली हो । मेरो पहिलो थर नेपाली हो । त्यसपछि मात्र फलानो जात, फलानो थर ! कथित जात र थरले चिनिने म अरु कोही हुनसक्छु !
म जसको छोरो भए पनि नेपालीको छोरो हूँ । म जसको बाबु भए पनि नेपालीको बाबु हूँ । नाम नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ । जातपातमा म सबैभन्दा पहिला नेपाली हूँ । नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हूँ । त्यसपछि मात्र म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाई, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुनसक्छु !
तराइदेखि हिमालसम्म मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि देशदेशावरमा छरिएर रहेका नेपालआमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै नाता छ - ती सबै मेरा बन्धुबान्धव हुन् । नेपाली बन्धुवान्धव ! त्यसपछि मात्र नातासाइनो जोडेर चिनिने अरुको म कोही हूँ वा मेरा अरु कोही न् ।
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हूँ ।
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हूँ .
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हूँ ।
चारजात छत्तीस वर्णमा पनि सबैभन्दा पहिला नेपाली हूँ ।
म जस्तै सबै नेपाली महरु, मनहरु, मस्तिष्कहरु, मतहरु, मननहरु, मनपेटहरु, मनसाहरु, मनोभावहरु, मन्थनहरु, सबैभन्दा पहिला नेपाली म हुन् ।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हूँ ।
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधै नेपाली भनिरहूँ ।
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ ।
शीरमा सगरमाथा बोकीरहूँ ।
मुटुमा मेची र महाकाली बगाइरहूँ ।
नेपाली हुनुको अर्थ आफूलाई सधैं यसरी नै म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ । नेपाली देखाइरहूँ ।
(नोट - यो सन्देशलाई विभिन्न माध्यद्वारा विश्वभरका नेपालीमाझ लैजान सहयोग गरिदिनु हुन म सम्पूर्ण समादरणीय विद्वत्त पाठकसमक्ष हार्दिक अपील पनि गर्दछु –धन्यवाद!)
(हरैचा/मोरङ )